सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्‍व पानी दिवस, २०२५ (२२ मार्च) को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्‍व पानी दिवस, २०२५ (२२ मार्च) को शुभकामना सन्देश

पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्ने कामनासहित विश्व पानी दिवस, २०२५ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व‚ संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘हिमनदी संरक्षण’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइरहेका छौँ ।

पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्न गएको छ ।

भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो‚ जसले पारिस्थितीकीय प्रणालीलाई दिगो बनाउन‚ नदीहरूको बहावलाई व्यवस्थित गर्न‚ जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्‍याउँदछ । बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवम् प्रदुषणका कारण पानीका स्रोतहरू नष्ट भइरहेका छन् । जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै समयमै पूर्व सूचना प्रणालीको मद्दतबाट  प्राकृतिक विनाश तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाको  कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । साथै, अव्यवस्थित मानव वस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदुषित हुँदै गएको छ । भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल‚ पोखरी र तालतलैयाहरूको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नु पर्दछ । शहरी क्षेत्रमा वर्षात्‌को पानीमार्फत पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्दछ । साथै प्राचीन एवम् आधुनिक प्रविधिको मिश्रण गरी जलाशययुक्त योजनाको तर्जुमा गर्न समेत आवश्यक छ भन्ने मलाई लागेको छ ।

अन्त्यमा, पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१ साल चैत्र ९ गते शनिबार ।