उभौली पर्व, २०८२ को शुभकामना सन्देश
किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्दछन् । साथै, विभिन्न परम्परागत नृत्य गर्दै मीठा-मीठा परिकार खाएर आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।
उभौली जस्ता साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको छु ।
अन्त्यमा, उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यवद्धतालाई थप सुदृढ गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
जय नेपाल !
२०८२ साल वैशाख २९ गते सोमबार ।
ने.सं. ११४५ बछलाथ्व पूर्णिमा ।