सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ । २०७९ साल फागुन ५ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता

कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा मिति २०७९/११/०७ गते देखि लागू हुने गरी बिष्णुकुमार लिम्बुसमेतका ३८१ (तीन सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ । २०७९ साल फागुन ५ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता

जरिबानाको रकम मिनाहा

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबानाको रकम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ । २०७९ साल फागुन ५ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०७९ साल माघ २९ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

  विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री उर्मिला अर्यालज्यूले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७९ साल माघ २४ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता  

मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री शिशिर खनाल र माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री डोलप्रसाद अर्यालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७९ साल माघ २३ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ। २०७९ साल पुस २२ गते आइतबार । (सागर आचार्य) प्रवक्ता    

वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । २०७९ साल माघ १६ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

गृह मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री श्री रबि लामिछानेले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा गृह मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।   २०७९ साल माघ १४ गते शनिबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री देव राज घिमिरेज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री इन्दिरा रानाज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७९ साल माघ ९ गते सोमबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता