सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नव वर्ष २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नव वर्ष २०८२ को शुभकामना सन्देश

नव वर्ष २०८२ को सुखद् आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् हो । हाम्रो इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्‌ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउँछ र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्दछ ।

हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौं । विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।

संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रुपले स्वतन्त्रताको उज्यालो एवम् फराकिलो लोकमार्गमा हाम्रो मुलुक अघि बढ्दैछ । आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका छन् । एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाई र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जानेछन् । समृद्धिको बाटोमा बाधक बनेर देखिने गरेको बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त हो । आजको दिन हामी जनताको यही चाहना  पूरा गर्ने संकल्प गरौं । आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु ।

हामीले स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जरूरी छ । दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यवसायिक वातावरणमा सुधार एवम् रोजगारीका अवसर सिर्जना गर्न अब ढिला गर्नु हुँदैन भन्ने पनि म ठान्दछु । श्रमको सम्मान गर्ने संस्कृतिसहित गाउँमै रोजगारी र आम्दानी सृजना गरेर विदेश पलायन भैरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माणका लागि आज हामी प्रतिज्ञा गरौं ।

आजको विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्दछ । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गरौं आज हामी ।

अन्त्यमा, आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु । नयाँ वर्ष हाम्रो र देशको जीवनमा नयाँ सन्देश, नयाँ लक्ष्य र नयाँ संकल्प बनेर आउने विश्वाससहित नव वर्ष २०८२ ले मुलुकमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्‌भावसहित समावेशी एवम् फराकिलो आधारसहितको आर्थिक विकास एवम् समृद्धि तथा सुसंस्कृत राष्ट्र निर्माणका लागि मन, वचन र कर्मले प्राथमिकताका साथ अग्रसर हुन सम्बद्ध सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ साल वैशाख १ गते सोमबार ।

ने.सं. ११४५ चौलागा पारु ।