सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले भूकम्प स्मृति दिवसको अवसरमा दिनुभएको सन्देश

भूकम्प स्मृति दिवसको  सन्देश

गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।

भूकम्प एक प्राकृतिक विपद भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरू मध्ये नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना प्रमुख रहेका छन् । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गराउँदछु ।

नेपाल सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणको अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सम्पन्न गरिसकेको र बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको छ । पुननिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको समेत प्रयोग गरिएकोमा मलाई खुसी लागेको छ । यस अवसरमा पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यमा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, प्राकृतिक विपद सबैका लागि जोखिमपूर्ण हुने हुदाँ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि भूकम्पीय जोखिम न्यूनीकरण, पुनर्निर्माण एवम्  पुन:स्थापनालगायतका  कार्यमा सबै नागरिक एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

२०८२ वैशाख, १२ गते शुक्रबार ।

ने.सं. ११४५ चौलागा द्वादशी ।